बैकल्पिक खेलाडी सान्टियागो कास्ट्रोले निर्णायक गोल गरेपछि बोलोग्ना २६ बर्षपछि इटालीयन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राती भएको खेलमा बोलोग्नाले अटलान्टालाई उसकै घरेलु मैदान गेविस स्टेडियममा १-० ले पराजित गरेको हो । सान्टियागोले खेलको ८०औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

बोलोग्नाका प्रशिक्षक भिन्सेन्जो इटालियानोले यस खेलका लागि केही चकित पार्ने निर्णय लिए । सुरुआती ११ मा न त कास्ट्रो थिए, न त डोमिङ्वेज । यसको सट्टा, ड्यालिङ्गालाई केन्द्रीय फरवार्डको भूमिकामा र ओडगार्डलाई दायाँ विंगरका रूपमा उतारिएको थियो ।

खेलको सुरुआती अवसर अटलान्टाले बनायो । सातौं मिनेटमा चाल्र्स डि केटेलाएरले राम्रो पोजिसनबाट प्रहार गरे, तर गोलकिपर लुकाज स्कोरुप्स्कीले उत्कृष्ट बचाउ गरे । बोलोग्नाले पनि पोबेगा र ओडगार्डमार्फत टाढाबाट केही प्रहार गरे, तर प्रभाव पार्न सकेनन् ।  

३०औं मिनेटमा केटेलाएरको पासमा ब्राजिलियन एडरसनले गोल गर्ने राम्रो अवसर पाए, तर लायकोगियानिसको ट्याकलले बोलोग्नालाई जोगायो । पहिलो हाफको इन्ज्युरी समयमा बोलोग्नाले उत्कृष्ट मौका बनायो । न्डोएले दायाँतर्फबाट बल ड्रिबल गर्दै ड्जिम्सिटीलाई छलाए र पोबेगालाई पास दिए, तर उनले प्रहार गर्न सकेनन् ।   

६०औं मिनेटमा बोलोग्नाले उत्कृष्ट मौका बनायो । न्डोएले क्रस हाने, ड्यालिङ्गाले बल नियन्त्रणमा लिएर पोबेगालाई पास दिए, तर उनको प्रहार गोलकिपरले बचाए । अटलान्टाले पनि केही अवसर बनायो, तर स्कोरुप्स्कीले बेल्लानोभा, क्वाड्राडो र माल्दिनीका प्रहार बचाएर टिमलाई खेलमा राखे ।  

खेलको ८०औं मिनेटमा बोलोग्नाले निर्णायक क्षण सिर्जना गर्यो । लायकोगियानिसले तीन–चौथाइ लाइनबाट उत्कृष्ट फ्री–किक प्रहार गरे, जसलाई भर्खरै मैदान छिरेका सान्टियागो कास्ट्रोले हेडर गोलमा परिणत गरे ।  पहिलो टचमै गोल गर्दै उनले टिमलाई सेमिफाइनलसम्म पुर्याए ।  

गोलपछि बोलोग्नाका समर्थकहरूमा खुसीको लहर फैलियो। खेलको अन्तिम १० मिनेटमा अटलान्टाले आक्रामक प्रयास गरे, तर बोलोग्नाले संयमता अपनाउँदै खेललाई जितमा परिणत गर्यो ।

अब बोलोग्नाले सेमिफाइनलमा युभेन्टस र एम्पोलीबीचको विजेतासँग अप्रिलमा खेल्नेछ । १९९९ पछि पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको बोलोग्नाले अब उपाधि जित्ने ठूलो अवसर पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *