शनिबार राति स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र ओसासुनाबीच भएको खेल १-१ मा सकिएको थियो । तनावपूर्ण बनेको सो खेलमा रियलका मिडफिल्डर जुड बेलिङ्ङ्घमलाई रेफ्रीले सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

सामान्य विवादमै रेफ्रीले इंग्लिस खेलाडीलाई सोझै रातो कार्ड देखाएपछि रियल समस्यामा परेको थियो । बेलिङ्ङ्घमले रेफ्री मुनुइरा मोन्टेरोसँग सामान्य विवाद गर्दा दुई जनाबीच ‘सञ्चारमा गलत बुझाइ भएको स्पेनिस सञ्चारमाध्यमले जनाएका थिए ।

बेलिङ्ङ्घमको भनाइलाई गलत तरिकाले बुझेपछि आक्रोशित बनेका रेफ्रीले उनलाई तत्कालै सोझै रातो कार्ड बुझाएका थिए । खेलपछि बेलिङ्ङ्घमले आफूले रेफ्रीलाई कुनै नराम्रो गाली नगेको वा अपशब्द नबोलेको भन्दै स्पष्ट पारेका थिए । सो खेलमा बेलिङ्ङ्घमलाई विवादास्पद रूपमा रातो कार्ड देखाउने रेफ्री मोन्टेरोलाई तत्कालका लागि दुई सातासम्म खेल खेलाउन नपाउने गरी प्रतिबन्ध लागेको छ ।

‘मार्का’ को रिपोर्ट अनुसार उनीमाथि दुई सातासम्म कुनै पनि खेल खेलाउन नपाउने गरी प्रतिबन्ध लाग्नेछ । र, उनीमाथि स्पेनिस फुटबल संघले थप छानबिन गर्नेछ ।

बार्सिलोनाले सन् २००३ देखि २०१८ सम्म ला लिगामा आफ्नो पक्षमा भूमिका निभाउने गरी गैरकाननी रूपमा रेफ्रीलाई पैसा खुवाएको आरोप लागेको थियो । सो विषय अहिले पनि सेलाइसकेको छैन ।

त्यो बेला २००३ देखि २०१८ को बीचमा २६ जना रेफ्रीले बार्सिलोनाबाट पैसा बुझेर खेलको नतिजा प्रभावित पारेको घटना दुई वर्षअघि चर्चित थियो । बेलिङ्ङ्घमलाई रातो कार्ड देखाउने रेफ्री मोन्टेरो पनि ती नै रेफ्री मध्ये एक रहेको ‘स्पोर्ट’ले जनाएको छ ।

सो खेलमा उनले बेलिङ्ङ्घमलाई देखाएको रातो कार्ड विवादस्पद बनेको थियो । रेफ्रीको भूमिकालाई लिएर चर्को आलोना भएपछि नियामक निकायले यसमा छानबिन गर्ने भएको हो ।

१० खेलाडीमा सीमित रियलले सो खेल जित्न नसकेपछि शीर्ष स्थानमा अग्रता लिन असफल भएको थियो । अहिले शीर्ष स्थानमा रियल र बार्सिलोनाको समान ५१ अंक छ । तर गोल अन्तरमा बार्सिलोना अगाडि छ भने रियल दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *