फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन १७ देखि २१ वर्ष उमेर समूहमा सद्भाव आचार्य शीर्षस्थानमा रहेका छन् । १-ओभर ६९ को स्कोरमा सद्भावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले पहिलो र सातौँ होलमा बर्डी प्रहार गरे पनि पाँचौँ होलको डबल बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १०औं र १४ औं होलमा एक-एक सट गुमाए भने १८ औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे ।
प्रकृतले ४-ओभर ७२ को स्कोरमा पहिलो दिनको खेल दोस्रो स्थानमा सकाए । उनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाएका थिए । तर यसपछि लय गुमाए। ब्याक ६-ओभर ४० मा सकाउन बाध्य भए । ७-ओभर ७५ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा छन् ।
१२ देखि १६ वर्ष उमेर समूहमा इधान्त सिंह साउद १२-ओभर ८० को स्कोरमा शीर्षस्थानमा रहेका छन् । उनले दीपेश श्रेष्ठलाई ४ स्ट्रोकले पछि पारे । दीपेश १६-ओभर ८६ सहित दोस्रो स्थानमा छन् । सिद्धान्त सापकोटा १७-ओभर ८७ सहित तेस्रो स्थानमा रहे ।
गल्स १२-२१ वर्ष उमेर समूहमा अभानी राई २०-ओभर ८८ सहित शीर्षस्थानमा रहिन् । उनले अनभद्धया मल्ललाई १० स्ट्रोकले पछि पारिन् । अनभद्धया ३०-ओभर ९८ सहित दोस्रो स्थानमा रहेकी छिन् ।
चार प्रदेशका ३१ जना जुनियर गल्फरहरू मध्य पहिलो दिन १ सय भन्दा बढी स्कोर गर्ने १४ खेलाडी १८ होलको खेल पश्चात् बाहिरिएका छन् ।
प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म भियतनामको ला-लगुनामा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्थान बनाउनेछन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव भने स्वतः छनोट भैसकेका छन् ।
गत नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि जितेको कारण उनी स्वतः छनोट भएका हुन् । यो पटक सद्भाव सहित चार नेपाली गल्फरहरूले फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनल खेल्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरहरूको सहभागिता रहेको छ ।
