३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्मालाई नेपाल गल्फ संघले सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले व्यक्तिगततर्फ स्वर्ण विजेता स‌द्भावलाई नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन् । सद्भाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सन् १९८८ को दोस्रो संस्करणदेखि नेपालले सहभागिता जनाउँदै आएको थियो । बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै स‌द्भावले उपाधि जितेका थिए ।

स‌द्भावले राहुल विश्वकर्मासँग मिलेर टिमतर्फको उपाधि पनि जितेका थिए । टिममा स्वर्ण जितेका सद्भाव र राहुललाई जनही २५-२५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । स‌द्भावले कुल ७५ हजार रुपैयाँ प्राप्त गरे ।

यसअघि सन् २०१८ मा शुक्रबहादुर राई र टंकबहादुर कार्कीले तथा सन् २०२२ मा सुवास तामाङ र सद्भाव आचार्यले टिमतर्फ स्वर्ण जितेका थिए ।

चार दिने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र अस्ट्रेलिया गरी ८ देशका कूल एक सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *