६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।

शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा सफल टोली पुलिसलाई ३-१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।

ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले गोल गरे । पुलिसका लागि एक गोल आत्मघाती उपाहारस्वरुप प्राप्त भयो ।  

खेलको ४०औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो । ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाए ।

सतोरोभ ६६औं मिनेटमा गोल गर्दा ब्ल्याक बुल्स ३-० ले अगाडि बढ्यो । ७७औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल हुन पुग्दा खेल ३-१ को स्थितीमा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा ब्ल्याक बुल्स च्याम्पियन बन्यो । 

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र सेमिफाइनलमा ५ पटकको विजेता थ्री स्टारलाई ४-० ले पराजित गरेको थियो ।

ब्ल्याक बुल्सले पहिलो सहभागितामै आहारारा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ । कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकी क्लबसामु फिक्का रह्यो ।

आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरु समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।

विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहाराराको आकर्षक ट्रफी प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *