सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । झापाले यसअघि पहिलो चरणमा मच्छिन्द्र एफसीलाई हराएको थियो ।

उल्लेख दर्शकको उपस्थिति रंगशालामा पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४औं मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा एरोनले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।

खेलको ४१औं मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए । झापाका प्रदीप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे ।

त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए । खेलको ७९औं मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे । चर्चका गोलकिपर कृसलले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २-१ को अवस्थामा ल्याए ।

घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । खेलको २४औं मिनेटमा प्रदिप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका किपर कृसलले नियन्त्रणमा लिए ।

खेलको ३२औं मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर कृसलले रोके । पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रसबार माथिबाट बाहिरियो ।

खेलको ३७औं मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको ३१औं मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गरे ।

खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए। उनले नगद २१ हजार र ट्रफी पाए ।

झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले पछिल्लो समय एउटै टिमवर्कका कारण ए डिभिजन टोलीसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए ।

खेलाडीको उत्कृष्ट प्रदर्शनले लगातार दुई खेलमा जित हात पारेको बताउँदै उनले भने, ‘खेलमा तलमाथि हुन्छ, रेफ्रीले पनि सोहीबमोजिम सही डिसिजन दिनुपर्छ ।

त्यस्तै, चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफलसमा प्रतियोगिता जुधेर समस्या आएको बताए । उनले क्लबको मुख्य टिम अहिले हेडौँटामा रहेकाले सबै खेलाडी यहाँ ल्याउन नसक्दा हार व्यहोर्नु परेको बताए ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *