ललितपुर । ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ ।

खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने, “बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौं ।”

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका-९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् ।

मैदान मर्मतमा अखिल नेपाल फुटबल संघ लगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी छन् । खेलकुद परिषद्सँग १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ ।

ललितपुर महानगरपालिका-९ का वडाध्यक्ष राजु महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्‌को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए ।

दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्‌ले रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *