धरानमा जारी कोशी प्रदेश प्रदेश लिग फुटबल प्रतियोगितामा मोरङको सम्राट स्पोर्टिङ क्लब र धाइजन चारआली फुटबल क्लब विजयी हुँदै समूहको शीर्ष स्थानमा उक्लिएका छन् ।

मंगलबार धरान रंगशालामा भएको पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई ५–१ ले पराजित गर्दै सम्राट स्पोर्टिङ क्लब मोरङ ३ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको हो । 

सम्राट स्पोर्टिङका लागि हरि खवासले ह्याट्रिक गरे। उनले खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पनि प्राप्त गरे । 

यस्तै, डेबिट मगर र अंकित लिम्बूले थप गोल गर्दै सम्राट स्पोर्टिङलाई ५–१ को फराकिलो जित दिलाए । भोजपुरका लागि सुसन तामाङले एक गोल फर्काएका थिए ।

समान तीन अंक भएको गाईघाट फुटबल क्लब गोल संख्याको आधारमा दोस्रो स्थानमा रहेको छ । समूह विजेताको टुंगो लगाउन बुधबार सम्राट स्पोर्टिङ र गाईघाटबिच समूह बीको अन्तिम खेल हुनेछ । भोजपुर भने लिगको दुवै खेलमा पराजित हुँदै घर फर्किएको छ । 

मंगलबार नै भएको दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गर्दै झापाको धाइजन चारआली फुटबल क्लब ३ अंकसहित समूह सीको शीर्ष स्थानमा रहन सफल भएको छ । धाइजनका लागि सागर रसाइलीले दुई गोल गरेका थिए भने निश्चल बस्नेतले एक गोल थपेका थिए। सागर रसाइली खेलको म्यान अफ द म्याचसमेत घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।  

बुधबार समुह ‘डी’ अन्तर्गत ताप्लेजुङको प्रगतिशील युथ क्लब र खोटाङको बुइपा–११ बिच पहिलो खेल हुने र समूह ‘बी’ अन्तर्गत उदयपुरको गाईघाट फुटबल क्लब र मोरङको सम्राट स्पोर्टिङ क्लबबिच दोस्रो खेल हुने आयोजकले जानकारी दिएको छ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा ८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई चार समूहमा विभाजन गरिएको छ। समूह विजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्नेछन् ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनोट हुनेछन् । लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *