न्यू रोड टिम (एनआरटी) लाई हराउँदै आयोजक केपी ओली फुटबल क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो क्वाटरफाइनलमा एनआरटीलाई १-० गोलले निराश बनाउँदै आयोजक टोली अन्तिम चारमा प्रवेश गरेको हो ।
केपी एफसीको जितमा सुरज ज्यु ठकुरीले निर्णायक गोल गरे । उनले खेलको ६३औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
यसअघि सोमबार नै भएको पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्यो ।
आर्मीले सेमिफाइनलमा संकटा र एपिएफको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा केपीले मछिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेडको विजेताको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लब र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
