रुपन्देहीको तिलोत्तमा-१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ ।

स्टेडियमा पाँचवटा फ्लड लाइट राख्न सात करोड लागेको स्टेडियमका निर्देशक विनोद कुँवरले बताएका छन् । नेपालको कुनै पनि क्रिकेट मैदानमा फ्लड लाइट राखेको यो पहिलोपटक हो । फ्लड लाइट जडान गरेर लाइट परीक्षणको काम सुरु भएको प्रबन्ध निर्देशक कुँवरले बताए ।

‘फ्लड लाइट जोड्ने काम सकिएको छ । अहिले ति लाइटको परीक्षणको काम चलिरहेको छ,’ कुँवरले भने, ‘परीक्षणपछि अब रातिको समयमा पनि क्रिकेट खेल्न सकिनेछ ।’ उनका अनुसार फ्लड लाइट भारतबाट ल्याएर जडान गरिएको हो ।

उनका अनुसार स्टेडियम निर्माणको काम तीव्र गतिमा भइरहेको र लक्ष्य अनसार २०८५ जेठभित्रै काम सकिने छ । स्टेडियमसँगै दुईवटा भवन निर्माणको काम पनि चलिरहेको उनले बताए ।

चार तलाका २ वटा भवन निर्माणको काम भइरहेको छ । ती भवनमा भीआईपी, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्स राखिनेछ । मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट पनि बनाइने उनले बताए ।

२०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको ०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सय भन्दा बढी खेल भइसकेका छन् ।

एक्स्ट्राटेक ओभलमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा २५ फागुनदेखि १६ चैतसम्म लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेल पनि हुँदै छन् । क्यानले एक्स्ट्राटेक ओभलमा १५ खेल सञ्चालन गर्दै छ ।

प्रधानमन्त्री कप क्रिकेट सिद्धार्थ रंगशाला र दाङको लमही अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *