चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराट भेट्रान ‘ए’ ले उचालेको छ ।

सुकुना खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा आयोजक विराट भेट्रान ‘ए’ ले विराट भेट्रान ‘बी’ लाई ७-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता टोलीबाट जर्सी नं ११ का खेलाडी कृष्ण शाक्यले खेलको ११औं, २५औं तथा ६३औं मिनेटमा ह्याट्रिक गरेका थिए । त्यस्तै, जर्सी नं ९ का खेलाडी सुरज प्रधानले २२औं, ५१औं र ६१औं मिनेटमा तीन गोल गर्दै अर्को ह्याट्रिक पूरा गरे ।

त्यसैगरी, जर्सी नं ७ का खेलाडी डेनी राईले ३२औं मिनेटमा थप एक गोल गर्दै टोलीको विजय सुनिश्चित गरे । उपविजेता विराट भेट्रान ‘बी’ का खेलाडी जर्सी नं १६ का निर्मल तामाङले खेलको ४९औं मिनेटमा एक गोल गर्दै टोलीलाई शून्यमा रोकिनबाट बचाए । खेलभर विजेता टोलीले उपविजेता टोलीलाई कडा दबाबमा राख्यो ।

गोल गर्ने थुप्रै अवसर पाए पनि विराट भेट्रान ‘बी’ ले तिनको सदुपयोग गर्न सकेन ।

प्रतियोगिताको विजेता टोलीले नगद रु एक लाख तथा उपविजेता टोलीले रु पचास हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

खेलको ‘म्यान अफ द म्याच’ विजेता टोलीका कृष्ण शाक्य घोषित भए, ‘बेस्ट डिफेन्डर’ सरोज बस्नेत बने भने ‘म्यान अफ द सिरिज’ डेनी राई भए । यस वर्षको प्रतियोगिता माघ १९ गतेदेखि सुरु भएको थियो, जसमा नेपालका आठ तथा भारतका दुई गरी कुल १० भेट्रान टोली सहभागी थिए ।

गत वर्षको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौँले जितेको थियो भने राजारानी फुटबल क्लब, धनकुटा उपविजेता बनेको थियो ।

यसपटकको प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका मुख्य सहयोगी तथा जिल्ला फुटबल संघ, मोरङ सहयोगकर्ता रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *