सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो ।
एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले इन्ज्युरी समयमा अर्को गोल गरिन् । अर्को गोल अन्स्रिना आङबुहाङले खेलको १५ औं मिनेटमा गरिन् ।

प्लेयर अफ द म्याच भएकी सुनकलाले ५ हजार रुपैयाँ र ट्रफी पाइन् । उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप ३ हजार रुपैयाँ प्रदान गरेका थिए ।
प्रतियोगितामा आइतवार अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ । फागुन ५ गते हुने फाइनलको विजेताले ३ लाख र दोस्रोले १ लाख ५० हजार प्राप्त गर्नेछ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।
