नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् ।

च्याम्पियनसिपमा नेपालले सोमबार साँझ पहिलो खेल किर्गिस्तानसँग खेल्दैछ । त्यसका लागि सावित्रा फ्रान्सबाट सोमबार विहान नेपाल आइपुग्दैछिन् । 

प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने भएकोले पहिलो खेल नखेल्ने बताए ।

साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग एन अभान्ट ग्वेंगाम्पबाट व्यवसायिक फुटबल खेलिरहरकी छिन् । उनी भोलि बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् ।

यसअघि प्रतियोगिताका लागि युएईको लिग खेलिरहेकी रेखा पौडेल शनिबार साँझ नेपाल आइपुगेकी थिइन् । तीन दिनअघि कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट नेपाल फर्किएकी थिइन् ।

प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ । 

प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । पहिलो दिन सोमवार म्यानमार र लेबनानबिचको खेल दिउँसो २ बजे तथा नेपाल र कीर्गिस्तानबीच खेल साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु कान्तिपुर म्याक्स एच्डिबाट प्रत्यक्ष प्रशारण गरिनेछ । दशरथ रंगशालामा हुने प्रतियोगीताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *