बेलबारी । सातौं बेलबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी वडा नं. ४ ले चुमेको छ ।
शनिवार बेलबारी नगरपालिका वडा नं.१० भाउन्ने खेलमैदानमा सम्पन्न फाइनल खेलमा ३-१ गोल अन्तरले वडा नं.३ लाई पराजित गर्दै वडा नं. ४ ले उपाधि हात परेको हो ।
बेलबारी ३ का जर्सी नं. ७ का खेलाडी राजु तामाङले खेल सुरु भएको ५ मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर बेलबारी ४ का जर्सी नं. ४ का खेलाडी राज राईले गोल गर्दै खेल बराबरीमा पुराएका थिए ।
खेलको ३७ मिनेटमा जर्सी नं. २ का खेलाडी इसानराज कोइरालाले थप गोल गरेर २-१ गोल अन्तरमा पुगेको थियो । र १० मिनेट पछि जर्सी नं. ११ का खेलाडी कैलाश संखरले गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भएको छ ।
विजेताले नगद पुरस्कार १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । माघ ८ गते देखी सुरु भएको खेल २६ गते सम्पन्न भएको हो ।
सातौं संस्करणसम्म बेलबारी मेयर कप फुटबल प्रतियोगिताको मोहत्व झनै बढ्दै गएको छ । छैटौँ संस्करणबाट लिग सुरु भएसँगै स्थानीय खेलाडीहरूले लामो समयसम्म खेल खेल्ने अवसर प्रदान गरेको छ । सातौं संस्करणमा करिब १७ दिन खेल खेलाइएको छ ।
सातौँ बेलबारी मेयर कप फुटबल प्रतियोगिता सामाजिक विकास शाखाका संयोजक तथा वडा नं. २ का अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
मेयर कपले खेलकुद क्षेत्रको विकासमा बलियो इँटा थप्ने काम गरिरहेको छ । मेयर कपले नगर भित्रका सबै फुटबल खेलाडीहरूले खेल्ने अवसर प्राप्त गर्नुको साथै प्रतिभा निखार्ने र नयाँ खेलाडीहरू उत्पादन गर्न पनि सहयोग पुराइरहेको छ । मेयर कपमा प्रतिस्पर्धाको साथै फुटबल क्षेत्रमा योगदान पुराउने पूर्व खेलाडीहरूलाई पनि सम्मान गर्दै आएको छ ।
