फिफा विश्वकप विजेता इटालीका गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् ।

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बुफोन केपी ओली कप फुटबल प्रतियोगिताका अवसरमा पारेर नेपाल आउन लागेका हुन् । 

केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

केपी ओली कपको फागुन‌ १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रंगशालामा उपस्थित रहने थेवेले दाबी गरे । त्यसका‌‌ लागि‌ सम्झौता भइसकेको थेवेले जानकारी दिए ।

बुफोनअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरेपनि उनीहरु नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए । संघका अध्यक्ष थेवेका अनुसार बफोन ल्याउनका लागि सम्झौता समेत भइसकेको छ ।

सन् २००६ को विश्व कप विजेता बुफोन देशका लागि सबै भन्दा बढि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् । इटालीबाट ८० खेलमा कप्तानी समेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल‌ खेलेका थिए । उनले ५ पटक‌ विश्व कप‌ खेलेका थिए । ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए ।

केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *