अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा दसौँ जित निकालेको छ । दसौँ जित निकाल्नेक्रममा अमेरिकाले शुक्रबार नामिबियालाई ७० रनले हरायो । नामिबियाको भने यो नवौँ हार हो ।
आफ्नो १५औँ खेलमा अमेरिकाले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको नामिबिया ४२.३ ओभरमा १९८ रनमै अलआउट भयो ।
अमेरिकाका लागि जेन ग्रीनले ९० बलमा सात चौकासहित सर्वाधिक ६५ रन बनाए । यस्तै, रुबेन ट्रम्पेलम्यानले ३५ बलमा सात चौका र दुई छक्कासहित ५५ रनको पारी खेले ।अमेरिकाका लागि सौरभ नेत्रवलकर र मिलान्द कुमारले सर्वाधिक समान ३ विकेट लिए ।
त्यसअघि ओमानको अल अमरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि आन्द्रेस गौसले १०५ बलमा ९ चौकासहित सर्वाधिक ८३ रन बनाए । यस्तै, कप्तान मोनांक पटेलले ६७ बलमा चार चौकाको सहयोगमा ५३ रनको पारी खेले । नामिबियाका लागि बर्नार्ड स्कोल्जले १० ओभरमा २ मेडनसहित २२ रन दिएर सर्वाधिक ५ विकेट लिए ।
यो जितपछि लिग–२ मा अमेरिकाको १५ खेलबाट २० अंक भएको छ । उसले अहिलेसम्म ५ खेलमा मात्र हार बेहोरेको छ । अमेरिका अहिले तालिकाको शीर्ष स्थानमा छ । नामिबिया छैटौँ स्थानमा छ । उसले १५ म्याच खेल्दा ९ मा हार तथा ६ खेलमा जित निकालेको छ ।
यस्तै, नेपाल तालिकाको सातौं स्थानमा छ । नेपालले जारी लिग–२ मा १२ म्याच खेल्दा आठमा हार र दुई खेलमा मात्र जित निकालेको छ । नेपालले दुई खेलमा अंक बाँडेको छ ।
नेपालले लिग–२ मा आउँदो जुनमा सिरिज खेल्ने तालिका छ । उक्त श्रृंखलामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्नेछ । सिरिज स्कटल्याण्डमा हुनेछ ।
