घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको उपाधि जितेको छ ।

शुक्रबार राति भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हरायो । जितका लागि पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्याण्डले ४५.२ ओभरमा मात्र ५ विकेटको क्षतिमा पूरा गर्यो ।

न्युजिल्याण्डको जितमा ड्यारेल मिचेलले सर्वाधिक ५७ रनको योगदान गरे । टम लाथमले ५६ तथा डेभन कन्वे ४८ रन जोडेका थिए । बलिङतर्फ नासिम शाहले दुई तथा साहिन साह अफ्रिदी, अब्रार अहमद अहमद र सलमान आघाले एक एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर ब्याटिङ थालेको पाकिस्तान ४९.३ नम्बरमा अलआउट हुँदै २४२ रनमा समेटिएको थियो ।

पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रनको योगदान गरे । सलमान आघाले ४५, तैयव तहिरले ३८ तथा बावर आजमले २९ रन जोडेका थिए । बलिङतर्फ विल ओरौरकले चार तथा माइकल ब्रेसवेल र मिचल स्यान्टनरले समान दुई विकेट लिए ।

पाकिस्तान, दक्षिण अफ्रिका र न्युजिल्याण्ड सहभागी सिरिजमा न्युजिल्याण्डले अपराजित रहँदै उपाधि जितेको हो ।सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो ।

सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने एक खेल पनि जित्न सकेन । न्युजिल्याण्डले पहिलो खेलमा पाकिस्तानलाई ७८ रनले तथा दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

दक्षिण अफ्रिका भने पहिलो खेलमा न्युजिल्याण्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । सिरिज उपविजेता पाकिस्तान पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

च्याम्पियन्स ट्रफीमा भारत र बंगलादेशसँगै पाकिस्तान र न्युजिल्याण्ड समूह’ ए’ मा रहेका छन् । दक्षिण अफ्रिका भने अफगानिस्तान, अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग समूह ‘बी’ मा रहेको छ । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा पाकिस्तानले न्युजिल्याण्डको सामना गर्नेछ । दक्षिण अफ्रिकाको पहिलो खेल भने शुक्रवार अफगानिस्तानसँग रहेको छ । प्रतियोगिताको फाइनल खेल भने ९ मार्चमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *