पोर्चुगलका तथा साउदी प्रो लिग क्लब अल-नासरका कप्तान क्रिष्टियानो रोनाल्डोले ४० वर्षमा पाइला टेकेका छन् । बुधबारबाट रोनाल्डोले ४०औं वर्षमा पाइला टेकेका हुन् । रोनाल्डोले आफ्नो जन्मदिन आफ्नो परिवारसँग मनाइरहेका छन् ।

जन्मदिनअघि स्पेनिस सञ्चारमाध्यम ‘ला सेक्स्टा’ लाई अन्तर्वार्ता दिँदै रोनाल्डोले आफू अहिलेसम्मको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन् । ‘म अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी हुँ,’ रोनाल्डोले भनेका छन्, ‘मैले गरेका गोलको तथ्यांकले पनि त्यो देखाउँछ ।’

रोनाल्डोले आफू बायाँ खुट्टाले धेरै गोल गर्ने खेलाडीमा पनि इतिहासकै शीर्ष १० मा पर्ने बताएका छन् । ‘मेरो दायाँजत्तिकै बायाँ खुट्टा पनि चल्छ र बायाँ खुट्टाले पनि धेरै गोल गर्ने खेलाडी हुँ । बायाँ खुट्टाले गोल गर्ने खेलाडीको शीर्ष १० मा पनि पर्छ,’ उनले भनेका छन् ।

कुराकानीमा रोनाल्डोले मेसीको प्रशंसा पनि गरेका छन् । अर्जेन्टिनी खेलाडी लियोनल मेसी पनि उत्कृष्ट खेलाडी भएको र उनीप्रति सम्मान रहेको बताउँदै रोनाल्डोले इतिहासको उत्कृष्ट खेलाडी आफू नै भएको दाबी गरे । ‘म इतिहासकै महान् खेलाडी हुँ । ४० वर्षको उमेरमा पनि मैले ३८-४० डिग्री गर्मीमा खेलिरहेको छु र लयमै छु । सँगसँगै टिमका लागि धेरै गोल पनि गरिरहेको छु,’ उनले भनेका छन् ।

४० वर्षीय रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले क्लब र देशका लागि ९२३ गोल गरिसकेका छन् । स्पोर्टिङ लिस्वनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका रोनाल्डोले उक्त क्लबबाट ५ गोल गरेका थिए । त्यसपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट १४५ गोल गरेका छन् ।

युनाइटेडबाट स्पेनिस महारथी रियल मड्रिडबाट खेलेका रोनाल्डोले ४५० गोल गरेका थिए । त्यसपछि इटालियन क्लब युभेन्ट्स पुगेका रोनाल्डोले १०१ गोल गरेका थिए । हाल साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले अहिलेसम्म ९० गोल गरेका छन् ।

यस्तै, पोर्चुगलका कप्तान रोनाल्डो राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल जित्ने खेलाडी पनि हुन् । रोनाल्डोले राष्ट्रिय टिमबाट २१७ क्याप जित्दै १३२ खेल जितेका छन् । रोनाल्डो पछि स्पेनका पूर्वकप्तान सर्जियो रामोसले १८० क्याप जित्दै १३१ खेल जितेका छन् । रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि २१७ खेलमा १३५ गोल गरेका छन् । रोनाल्डोलाई पछ्याइरहेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले १९० खेलमा ११२ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *