विराटनगर । युवा राष्ट्रको लागि, विराटनगरको आयोजनामा जारी प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब फाइनलमा पुगेको छ ।
विराटनगरस्थित जुटमिल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा शृजनशील युवा क्लबलाई २-० ले हराउँदै बेलबारी फाइनलमा पुगेको हो ।

बेलबारीको जितमा डेबिड मगरले एक गोल गरे । बेलबारीले अर्को गोल शृजनशीलका सरोज चौधरीबाट आत्मघाती उपहार पाएको थियो ।
खेलको म्यान अफ दि म्याच बेलबारीका डेबिड मगर घोषित भए । उनले नाङ्लो रेष्टुरेन्ट विराटनगरको तर्फ बाट ५०० रुपैयाँ बराबरको फुड कुपन र नगद ५०० रुपैयाँ प्राप्त गरे ।

बेलबारीले शनिबार हुने फाइनलमा विराटनगर स्पोर्ट्स एकेडेमीको सामना गर्नेछ । प्रतियोगितामा कुल १२ टोली सहभागी थिए । प्रतियोगिताको विजेतालाई नगद ५१ हजार तथा उपविजेतालाई २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको आयोजक समितिलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख रुपैयाँ बराबरको बिमा प्रदान गर्ने घोषणा गरेको छ । साथै, इन्स्योरेन्सले प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ५ लाख तथा विजेता टोलीका प्रत्येक खेलाडीलाई १ लाख रुपैयाँ बराबरको बिमा गरिदिने निर्णय गरेको छ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार १ सय, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्तालाई जनही नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजक युवा राष्ट्रको लागिका अध्यक्ष सक्रिय गौतमले जानकारी गराए ।
