बुडेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले होलस्टेन केइलमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले होलस्टेन केइललाई ४-३ गोल अन्तरले हराएको हो ।

बायर्नको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलउन ह्यारी केनले २ गोल गर्दा जमाल मुसियाला र सर्जे जिनाब्रीले समान १ गोल गरे । होल्स्टेन केइलका लागि स्टेभेन स्करजेब्स्कीले २ गोल गर्दा फिन पोराथले १ गोल फर्काए ।

खेलको १९औं मिनेटमा मुसियालाको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ४६औं मिनेटमा केनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा बायर्न ३–० ले अघि बढ्यो । ५४औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ४–० को अग्रता दिलाए ।

पोराथले ६२औं मिनेटमा गोल गर्दा खेल ४–१ को स्थितिमा आयो । खेलको इन्जुरी समयको पहिलो मिनेटमा स्टेभेनले गोल गर्दा खेल ४–२ को अवस्थामा आयो । त्यसको दुई मिनेटपछि नै स्टेभेनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा खेल ४–३ ले सकियो ।

जितसँगै बायर्न २० खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । पराजित होलस्टेनको समान २० खेलबाट १२ अंकका साथ १७औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *