धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको मंगलबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ ।

काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए ।

खेलको ४८ औं मिनेटमा शिशिर लेखीले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६०औं मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए ।

लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो । खेलको ६२औं मिनेटमा खामिर लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएका थिए ।

अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए । खेलको ७९ औं मिनेटमा सुमित श्रेष्ठले मिलाइदिएको ब्याकक्रसलाई सुन्दर ढंगले खड्गीले गोल गरेका थिए ।

खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार परस्कार प्राप्त गरे ।

२५औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल बुधबार भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *