मकवानपुर । थ्री स्टार क्लब मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
थ्री स्टारको जितमा सुशील राईले खेलको तेस्रो मिनेटमा, नवीन लामाले १७ औंमिनेटमा र विदेशी खेलाडी फोफनाले २४औं मिनेटमा गोल गरे ।
खेलको म्यान अफ दि म्याच थ्रीस्टारका नवीन लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो हाफ आफुलाई सम्हाल्न नसक्दा ४ गोल खान पुगेका हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो ।
चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने तेस्रो क्वाटरफाइनल खेल संकटा फुटबल क्लब र एपीएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
