सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १-० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो ।
प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औं मिनेटमा गरेको गोल खेलको निर्माणयक बन्यो । खेलको प्लेयर अफ द म्याच बनेका प्रताप राईले ७ हजार रुपैयाँ र ट्रफी पाए ।
प्लानिङ ब्वाइजले फाइनलमा सुनसरीको न्यु स्टार एफसीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल माघ २८ गते हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रो टोलीले १ लाख २५ हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।
