इलाम । रोयल स्पर्टिङ क्लब दमक इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप २०८१’ अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा दिव्यशक्ति धोत्रे दार्जिलिङ (भारत) लाई ३-० गोल अन्तरले हराउँदै दमक अन्तिम चारमा प्रवेश गरेको हो । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

दमकको जितमा विपासा धिमाल, मनिषा चौधरी र अम्बिका लावतीले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि सबै ३ गोल दोस्रो हाफमा भएका थिए । दोस्रो हाफको ३५औं मिनेटमा विपासाको गोलमार्फत दमकले सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि ३७औं मिनेटमा मनिषाले फ्रिकिकमा उत्कृष्ट गोल गरी दमकको अग्रता दोब्बर पारिन् । त्यस्तै खेलको ४२औं मिनेटमा कप्तान अम्बिकाले गोल गर्दै दमकलाई ३–० को सहज जित दिलाइन ।
खेलको प्लेयर अफ द म्याच दमककी विपासा धिमाल घोषित भईन् । उनले नगद तीन हजार ६९ रुपैयाँ हात पारिन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोली सहभागी छन् । प्रतियोगिताअन्तर्गत भोलि मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा कनकाई नगरपालिका झापा र ताप्लेजुङ फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद तीन लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद दुई लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
