धरान । कोशी प्रदेश फुटबल संघद्वारा सञ्चालित धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबलको पहिलो चरणका खेलहरू आज शुक्रवार सम्पन्न भएको छ ।

पहिलो चरणबाट अंकको आधारमा ४ समूहको शीर्षमा पुगेका क्लबहरू पाँचथर, गाईघाट, धनकुटा र खोटाङ बिच आइतबारदेखि सुपर लिग सुरु हुँदैछ ।

प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूबिच भएको समूह चरणको लिगमा समूह विजेता टिमहरू सुपर लिग अन्तिम चारमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ बाट पाँचथर युनाइटेड, ‘बी’ बाट गाईघाट फुटबल क्लब, ‘सी’ बाट देउराली युथ क्लब धनकुटा र समूह ‘डी’ बाट खोटाङ बुइपा-११ सुपर लिगमा प्रवेश गरेका हुन् । सुपर लिगमा चार टिमले आइतवारदेखी प्रतिस्पर्धा गर्नेछन् ।

आज शुक्रवार धरान रङ्गशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समूह विजेता बनेको हो । यस अघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी ३ अंक बटुलेको थियो ।

कुल ४ अंक भएको बुइपा समूह विजेता हुँदा धरानको १ अंक र प्रगतिशीलले भने अंक जोड्न सकेन । बुइपाका डिकेन राई र मिलन राईले गोल गरे । १ गोल र १ असिस्ट गरेका बुइपाका डिकेन राई म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यसअघि बुइपाले ताप्लेजुङको र धरान र प्रगतिशीलबिचको खेलमा दुवै टोलीले खेल नियम विपरीतका खेलाडी समावेश गरेपछि दुवै टोलीको अङ्क खोसिएको थियो ।

झापाको धाइजन चारआली फुटबल क्लबले पनि नियम विपरीतका खेलाडी समावेश गरेपछि समूह ‘सी’ अन्तर्गत भएको खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३-० ले पराजित गरे पनि धाइजन चारआलीको अंक खोसिएको थियो ।

नियमानुसार देउरालीले ३ अंक प्राप्त गरेको थियो । देउरालीले बिहीबार भएको खेलमा इलामको रेडहर्ष क्लबलाई १-० ले पछि पारेपछि ६ अंकका साथ समूह विजेता हुँदै देउराली सुपर लिगमा पुगेको हो ।

यस अघि नै पाँचथर र गाईघाट समूह विजेता हुँदै सुपर लिगमा प्रवेश गरिसकेका थिए ।

समूह ‘सी’ अन्तर्गत शुक्रवार भएको अन्तिम खेलमा इलामको रेडहर्ष क्लब र झापाको धाइजन क्लबको खेल २-२ गोलको बराबरीमा सकिएको छ । धाइजनका सागर रसाइली र पूजन थापाले गोल गरे भने रेडहर्षका विनोद धमला र साङ्गे शेर्पाले गोल गरे । रेडहर्षका गोलकर्ता विनोद धमला म्यान अफ द म्याच घोषित हुँदै ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।

फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता थियो । अब आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिस्पर्धा गर्ने कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *