उदयपुर । पाहुना टोली भुटानको समत्से फुटबल क्लबलाई पराजित गर्दै च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौं उदयपुरमा जारी पाँचौँ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार कटारी टाईगर मैदानमा भएको खेलमा भुटानलाई ३–१ गोलले हराउँदै च्याम्पियन ब्वाईज सेमिफाइनलमा प्रवेश गरेको हो ।

च्याम्पियनका लागि २३औं र २८औं मिनटमा सुरज राउतले २ र सातौं मिनेटमा उमेश ढुंगानाले १ गोल गरे । यद्यपि अग्रता भने आयुस डुक्पाको गोलबाट भुटानले छैटौं मिनेटमा लिएको थियो ।

खेलको म्यान अफ दि म्याच च्याम्पियनका सुरज राउत घोषित भए । उनले नगद रु तीन हजार पुरस्कार प्राप्त गरे ।

मंगलबार हुने पहिलो चरणको अन्तिम खेल वागमती फुटबल क्लब सर्लाही र सहलेश युवा क्लव सिरहाबीच प्रतिस्पर्धा हुनेछ ।

कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिबारदेखि जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीन लाख हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *