इन्टर मिलान पुन: इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमै पर्किएको छ । सोमबार राति भएको खेलमा फिओरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टर दोस्रो स्थानमा उक्लेको हो ।
यो जित इन्टरको लागि फियोरेन्टिनासँगको पछिल्लो हप्ता भएको ३–० को हारको बदला पनि थियो । अब इन्टर शीर्ष स्थानमा रहेको नापोलीसँग मात्र १ अंकको दूरीमा रहेको छ ।
जितसँगै इन्टरले २४ खेलबाट ५४ अंक जोडेको छ । समान खेलबाट शीर्ष स्थानको नापोलीको ५५ अंक छ । यता पराजित फिओरेन्टिना समान खेलबाट ४२ अंकका साथ छैटौं स्थानमा छ ।
इन्टरको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन मार्को अर्नाउटोभिकले गोल गर्दा अर्को गोल आत्मघाती उपहार पायो । फियोरेन्टिनाका लागि रोलेन्डो म्यान्ड्रागोराले गोल गरे ।
खेलको २८औं मिनेटमा फियोरेन्टिनाका मरिन पोंग्राचिचले आत्मघाती गोल गरेपछि इन्टरले खेलमा अग्रता लिएको थियो ।
तर, पहिलो हाफको अन्त्यतिर डार्मियनको ह्यान्डबलका कारण फिओरेन्टिनाले पेनाल्टी प्राप्त गर्यो, जसलाई म्यान्ड्रागोराले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफ सुरु भएको सात मिनेटमै अर्नाउटोभिकले हेडरमार्फत गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए, जुन अन्ततः निर्णायक सावित भयो ।
