१५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । इटहरी रङ्ग‌शालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरेका छन् ।

उद्घाटनसँगै सम्पन्न भएको पहिलो खेलमा आयोजक टोली पराजित भएको छ । पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै यूकेएफसी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ११औं मिनेटमा राष्ट्रिय जागृति क्लबका उमेश कार्कीले कर्नरमा विदेशी खेलाडी एलेक्सले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको २१औं मिनेटमा यूकेएफसीले फ्री किकलाई सदुपयोग गर्दै गोल गरेपछि खेललाई बराबरी बनायो । सत्यम शर्माले यूकेएफसीका लागि बराबरी गोल गरे । खेल बराबरीमा पुगेपछि दुवै टिम आक्रामक भएका थिए ।

खेलको ५५औं मिनेटमा यूकेएफसीका हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको म्यान अफ दि म्याच यूकेएफसीका सत्यम शर्मा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

गत १४औं संस्करणमा यी दुई टोली क्वाटरफाइनल चरणमा आमनेसामने भएका थिए । जसमा   आयोजक टोलीले पेनाल्टी शुटआउटमा ५–४ गोल अन्तरले जित निकालेको थियो ।

१५औं संस्करणको उद्घाटन खेलमै यूकेएफसीले आयोजकलाई पराजित गर्दै अघिल्लो संस्करणको बदला लिन सफल भयो । यूकेएफसी इटहरी गोल्डकपमा तेस्रो पटक सहभागी भएको हो । आयोजक राष्ट्रिय जागृति क्लब अहिलेसम्म इटहरीमा आयोजित गोल्डकप प्रतियोगितामा सेमिफाइनल सम्म मात्र पुग्न सफल भएको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा युथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५औं बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौँबिच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोलीको सहभागिता रहेको आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।

सहभागी टोलीहरूमा भारतको यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति क्लब, एनआरटी क्लब काठमाडौँ, सगरमाथा यूथ क्लब मोरङ र धरान फुटबल क्लब छन् ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप-विजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ दिइनेछ । साथै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २०–२० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ दिइनेछ भने उदयीमान खेलाडीलाई एलईडी टिभी प्रदान गरिनेछ ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *