गत संस्करणको ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनल खेलमा विभगीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले निराश बनाउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

चर्च ब्वाइजको जितमा राज भुषालले निर्णायक गोल गरे । उनले खेलको ८९औं मिनेटमा निर्णायक गोल गरेका थिए । बराबरीतर्फ उन्मुख खेलको निर्धारित समय सकिन अन्तिम मिनेट बाँकी रहँदा राजले हेडरमार्फत गोल गरेका हुन् ।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका मिलन राई घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।

आजको हारसँगै साबिक विजेतासमेत रहेको आर्मी क्वाटरफाइनलबाटै बाहिरिएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको खेल बुधबार हुनेछ ।

गत संस्करण चर्च ब्वाइज आर्मीसँग २–१ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । यसपल्ट टोलीले उक्त बदला क्वाटरफाइनलमै लिन सफल भयो ।

प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा थन्डरबोल्ट्स नर्थ युनाइटेड र ब्याक बुल्स एफसी भिड्नेछन् । यो खेलको विजेताले सेमिफाइनलमा थ्रीस्टारसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *