धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा घाेडाघाेडी ११ सुख्खडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई १ विकेटले पराजित गरेकाे छ ।

समूह ‘ए’ काे लिग चरणको अन्तिम खेलमा सुख्खडसँग पराजित भएपनि डडेल्धुरा अंकतालिकाकाे शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्याे ।

तीन खेल खेलेकाे डडेल्धुराकाे दुई जितका साथ ४ अंक छ । समान तीन खेलबाट ४ अंक नै रहेकाे डिसिए धनगढी नेटरनरेटकाे आधारमा पछि रहँदै उपविजेताकाे रूपमा अन्तिम चारमा सुरक्षित छ । प्रतियोगिताबाट बाहिरिसकेकाे सुख्खडले आज सान्त्वना जित निकाल्याे ।

डडेल्धुराले जितका लागि दिएकाे १२५ रनकाे लक्ष्य सुख्खडले १९.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

सुख्खडका लागि आयुव चन्दले ३३, याेगेश भाटले २०, कप्तान शेर मल्ल र टेक रावतले समान २० रनकाे याेगदान गरे । डडेल्धुराका लागि हेमन्त धामीले ३, अभिषेश गाैतमले २, कुशल भुर्तेल, गजेन्द्र बाेहरा र कृश ऐरले समान १ विकेट लिए ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे डडेल्धुराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२४ रनको योगफल तयार पारेको थियो ।

डडेल्धुराका लागि विनाेद भण्डारीले सार्वधिक ५६ रन बनाए । यस्तै कुशल भुर्तेलले १३, आयुशमान बमले ११ र गजेन्द्र बाेहराले १० रन बनाए ।

सुख्ख्डका लागि म्यान अफ द म्याच समेत भएका नरेन साउदले ४ विकेट लिए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

समूह ‘ए’ बाट डडेलधुरा धनगढी सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट अत्तरिया सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने अर्को टोलीको पक्का भने शुक्रवार हुनेछ ।

बिहिवार नै भएको दिनको पहिलो खेलमा दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीले क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *