काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै नेदरल्याण्ड्सले सिरिजको उपाधि जित्ने सम्भावना कायम राखेको छ।
बिहीबार भएको खेलमा थाइल्याण्डले दिएको ११० रनको लक्ष्य नेदरल्याण्डसले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्याण्ड्सको जितमा ओपनर फेबे मोल्केनबोरले सर्वाधिक ३२ रन बनाइन् । यस्तै, रोबिन रियाकले २० र स्टेर कालिसले १४ रन थपिन् । अन्तिम ओभरमा आठ रन आवश्यक हुँदा एसाबेल भान डेर वोनिङ र सिल्भर सेइगर्सले अविजित क्रमशः पाँच र सात रन बनाए ।
बलिङमा थाइल्याण्डका लागि थिपाच्चा पुथावोङले ४, ओनिचा कामचोम्फुले ३ र फनिता मायाले २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रनको योगफल तयार पारेको थियो ।
थाइल्याण्डकी नाथाकान चन्थामले सार्वधिक ३६ रन बनाइन् । चनिन्दा सुथिरुआङले ३२, कप्तान नारुइमोल चाइवाइले १५ र सुवानान खिएओटोले १० रन थपिन् ।
बलिङमा नेदरल्याण्ड्सका लागि आइसिज आइरिस ज्वीलिङले ३ र हेथर सेगर्सले २ विकेट लिएकी थिइन् ।
प्रतियोगितामा अन्तिम खेल खेलेको नेदरल्याण्ड्सको यो चौथो जित हो । ६ खेलबाट ८ अंक जोडेको नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलबाट ८ अंक जोडेको थाइल्याण्ड भने तालिकाको शीर्ष स्थानमा कायमै छ । प्रतियोगितामा थाइल्याण्डको यो पहिलो हार हो ।
आजको नतिजापछि नेदरल्याण्ड्स र थाइल्याण्ड दुवैको उपाधि सम्भावना कायमै रहेको छ । नेदरल्याण्ड्सले उपाधि जित्न शुक्रवार नेपालले थाइल्याण्डलाई फराकिलो रुपमा हराउनु पर्ने हुन्छ । त्यो खेलमा नेपाल सामान्य अन्तरले पराजित भएमा थाइल्याण्डले उपाधि जित्नेछ ।
सिरिजको अन्तिम खेल शुक्रवार नेपाल र थाइल्याण्डबिच हुनेछ ।
