धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा डिसिए धनगढीले दोस्रो जित दर्ता गरेको छ ।

मंगलवार भएको दिनको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । झापा भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १ सय ३८ रन मात्रै बनाउन सक्यो । झापाका लागि दिपु भुजेलले सर्वाधिक २८ रन बनाए ।

रोहन विक र अरुण ऐरीले समान २६ रन बनाए । रमेश भट्ट २५ रनमा आउट हुँदा कप्तान अभिनास सिंह १३ रनमा नट आउट रहे । डिसिएका लागि राहुल भण्डारी र नारायण जोशीले समान २ तथा भोजराज भट्टले १ विकेट लिए । 

त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । डिसिएका लागि ओपनर लोकेश बमले सर्वाधिक ५७ रन जोडे ।

उनले ३६ बल ३ चौका र ४ छक्का प्रहार गरे। अमित श्रेष्ठ २५ तथा मिलन बोहोरा १८ रनमा आउट भए । झापाका लागि पवन कार्की, अभिषेक कार्की र रोशन शाहले समान २ तथा रुसिल रिमालले १ विकेट लिए ।

जितपछि ३ खेलमा ४ अंक बनाएको धनगढी समुह ‘ए’ मा दोस्रो स्थानमा रहेको छ । २ खेलमा अपराजित सिवाईसी अत्तरिया ४ अंक सहित समुह ए को शिर्षस्थानमा छ ।

पराजित झापा २ खेलमा अंकबिहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको पहिलो खेलमा न्यु होराजन बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई पराजित गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।

प्रतियोगिताको समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी-११ र बोष्टन क्रिकेट झापा रहेका छन् ।

यस्तै समुह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *