अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो ।
प्रतियोगितामा आयोजक नेपालसहित किर्गिस्तान, लेबनन र म्यानमार भिड्दैछन् । आज हुने प्रतियोगिताको उद्धाटन खेलमा लेबनन र म्यानमार भिड्दैछन् । खेल दिउँसो २ बजे शुरु हुनेछ ।
यस्तै आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र किर्गिस्तान भिड्नेछन् । खेल बेलुकी ६ बजे शुरु हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो ।
नेपालले कीर्गिस्तानविरूद्ध सन् २०१९ मा कीर्गिस्तानमा भएको नाजेज्दा कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले कीर्गिस्तानलाई घरेलु मैदानमै ८-२ गोलअन्तरले हराएको थियो ।
नेपाल आज पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । महिला फूटबलको इतिहासमा उपाधि बिहिन रहेको नेपाल यसपटक घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।
नेपाली राष्ट्रिय फूटबल टोलीकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारीले आजको खेल गुमाउने सम्भावना रहको छ । सावित्रा आज बिहानमात्र स्वदेश आउने भएकाले आजको खेलमा रेस्ट गर्ने सम्भावाना रहेको टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए ।
यस्तै विदेशी लिग खेलिरहेका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रेखा पौडेल भने यसअघिनै नेपाल आइसकेको हुनाले आजको खेलको लागि उपस्थित रहनेछन् ।
फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ । नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ ।
एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारी स्वरूप एन्फाले चार देशीय च्याम्पियनसिपको आयोजना गरेको हो । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु कान्तिपुर म्याक्स एच्डिबाट प्रत्यक्ष प्रशारण गरिनेछ । दशरथ रंगशालामा हुने प्रतियोगीताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।
