लेटाङ । पथरीशनिश्चरे नगरपालिका मोरङको लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
लेटाङको प्रस्तावित बुद्ध रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुन्दरहरैंचा नगरपालिकालाई २-० गोल अन्तरले हराउँदै पथरीशनिश्चरे नगरपालिकाले फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफको इन्जुरी समयमा अंकित लिम्बूले गोल गर्दै पथरीशनिश्चरेलाई अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको ३१ औं मिनेटमा मिक्चन दासले गोल गरेपछि पथरीशनिश्चरेको जित सुनिश्चित गरेका हुन् ।
खेलको म्यान अफ द म्याच पथरीशनिश्चरेका अंकित लिम्बू घोषित भए । उनले एक हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिका भिड्नेछन् ।
प्रतियोगिताको विजेताले रु १ लाख तथा उपविजेताले रु ५० हजार रुपैयाँ सँगै ट्रफि प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते शनिबार हुनेछ ।
तस्वीर: 101 Nepal
