म्यानचेस्टर युनाइटेडका गोलकिपर अल्टाय बायन्दिरले गएराति आर्सनलविरुद्धको एफए कप तेस्रो चरणको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै आफ्नो नाम फुटबल इतिहासमा सुनौलो अक्षरले लेख्न सफल भएका छन् ।
बायन्दिर एफए कपको इतिहासमा एउटै खेलमा निर्धारित समयमा पेनाल्टी बचाउने र पेनाल्टी सुटआउटमा अर्को पेनाल्टी बचाउने पहिलो गोलकिपर बनेका छन् ।
एमिरेट्स स्टेडियममा भएको खेल १-१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा प्रवेश गरेको थियो । खेलका ७०औं मिनेटमा बायन्दिरले आर्सनलका कप्तान मार्टिन ओडेगार्डको पेनाल्टी बचाउँदै युनाइटेडलाई खेलमा टिकाइराखेका थिए ।
पेनाल्टी सुटआउटमा उनले फेरि काइ हाभर्ट्जको प्रहार रोक्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई अझ प्रभावशाली बनाएका थिए । अन्ततः जोसुआ जिर्कजले निर्णायक पेनाल्टी गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ५-३ को जित दिलाए ।
