केराबारी । मोरङको केराबारीमा भएको तेस्रो मच्छिन्द्र कप फुटबल प्रतियोगिताको उपाधि पानबारी फुटबल क्लब धरानले जितेको छ ।
शनिबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा सम्पन्न फाइनल खेलमा चत्या सा दमकलाई टाइब्रेकरमा ४-१ ले हराउँदै पानबारीले उपाधि जितेको हो ।
निर्धारित समयमा दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । विजेता पानबारीले ३ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता चत्या साले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
केराबारी फुटबल क्लब र केराबारी गाउँपालिकाको सहयोगमा आयोजना भएको प्रतियोगितामा कुल ८ टिम सहभागी थिए ।प्रतियोगिताका संयोजक प्रितम लिम्बुले फुटबल खेलको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए ।
