जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मधेश प्रदेश र बागमती प्रदेशबीच भएको खेल बराबरीमा सकिएको छ ।
मधेशले बागमतीलाई १६४ रनको विजय लक्ष्य दिएपनि बागमतीले ६ विकेट गुमाउँदै ९७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा भएको खेलमा मधेश प्रदेशले पहिलो इनिङमा १०२ रन बनाएको थियो भने दोश्रो इनिङमा ९ विकेटको क्षतिमा २११ रन बनाएर पारी घोषित गरेको थियो ।

दोश्रो इनिङमा मधेश प्रदेशको तर्फबाट मयन यादवले १०६ रनको शतकीय पारी खेले । यो शतक प्रहारसँगै यादव जय ट्रफीमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् ।
मधेश प्रदेशको तर्फबाट हरिशंकर शाहले ११, निरज यादवले १७, विशाल पटेलले १४, अभिषेक तिवारीले १९ र रुपेश सिंहले १४ रन जोडेका थिए ।

त्यस्तै बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । लामिछानेले पहिलो इनिङमा पनि व्यक्तिगत ५ विकेट लिन सफल भएका थिए । यसैगरि सूर्य तामाङले २ तथा रिजन ढकाल र नन्दन यादवले १-१ विकेट लिए ।
त्यस्तै बागमती प्रदेशले पहिलो इनिङमा १५० रन बनाएको थियो । पहिलो इनिङमा बागमतीले ४८ रनको अग्रता पाए पनि दोश्रो इनिङमा मधेशले २११ रन बनाएर बागमतीलाई १६४ रनको विजय लक्ष्य दिएको थियो ।
बागमतीले दोश्रो इनिङमा ६ विकेट गुमाउँदै ९७ रन बनाउन सफल भयो । बागमतीको तर्फबाट आशुतोश घिरैयाले १७, रित गौतमले २५, शुभ कंसाकारले २३ र प्रतिस जीसीले १६ रन बनाउँदा इशान पाण्डे भने सून्यमा आउट भएका थिए ।
त्यस्तै उत्तम मगर १ रनमा वोल्ड आउट भए । मधेशका लागि हरिशंकर शाहले ३, अभिषेक तिवारी, रंजीतकुमार र रुपेश सिंहले १-१ विकेट लिएका थिए ।
बराबरीसँगै बागमती १५ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । मधेश भने १५ अङ्कसहित दाेस्राे स्थानमा छ ।
आइतबारदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
