जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेलपनि बराबरीमा सकिएको छ ।
सोमबार नै सम्पन्न बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको थियो ।
पहिलो इनिङमा आर्मीले १२१ र पुलिसले १२५ रन बनाएका थिए । त्यस्तै दोश्रो इनिङमा आर्मीले १७५ बनाएर अलआउट हुँदा पुलिसले जितको लागि १७२ रनको लक्ष्य पाएको थियो । तर पुलिसले दोश्रो इनिङमा ५ विकेट गुमाएर ८८ रन बनाउँदा खेल बराबरीमा टुङ्गिएको हो ।
दोश्रो इनिङमा आर्मीको तर्फबाट सोमपाल कामीले अविजित ८२ रनको उत्कृष्ट पारी खेले । त्यस्तै ओपनर त्रितराज दासले ३४, भिम सार्कीले १५, र विवेक यादवले ११ रनको योगदान दिए । अन्य खेलाडी भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ पुलिसको तर्फबाट कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै गुलशन झाले ३, ललित राजवंशीले २ तथा राशिद खानले १ विकेट लिएका थिए ।
त्यस्तै दोश्रो इनिङमा खराब शुरुवात गरेको पुलिसले आफ्ना दुवै ओपनर दिलिप नाथ ९ र कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियोे । यसरी दवावमा परेको पुलिसलाई अमित श्रेष्ठले सम्हाल्दै ३६ रनको उत्कृष्ट पारी खेले ।
तर गुलशन झा व्यक्तिगत १ रनमा आउट हुँदा पुलिस पुन दवावमा परेको थियो । पुलिसले ३१ रन जोड्दा आफ्ना महत्वपूर्ण ३ विकेट गुमाएको थियो ।
त्यसपछि अमित श्रेष्ठ र अर्जुन साउदको जोडीले सुझबुझका साथ ब्याटिङ गर्दै खेललाई बराबरीतर्फ डोहोर्याउने कोशिस गरेपनि अमित श्रेष्ठ ३६ रनमा आउट भएका थिए ।
यसपछि अर्जुन साउद १९, राशिद खानले १० र शंकर रानाले ५ रन बनाएर खेललाई बराबरी गर्न सफल भएका थिए । आर्मीको तर्फबाट अकाश चन्दले २ र शाहब आलमले २ विकेट पवन कार्कीले १ विकेट लिए ।
आफ्नो दोस्रो खेलमा बुधबार आर्मीले बागमती प्रदेश र पुलिसले मधेश प्रदेशको सामना गर्नेछन् ।
बराबरीसँगै पुलिस १५ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै आर्मी १४ अङ्कसहित पुछारमा छ ।
आइतबारदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
