प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले प्रशिक्षक जुलन लोपेटेगीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको रूपमा ग्रहम पोटरलाई नियुक्त गरेको छ ।

पूर्व ब्राइटन र चेल्सीका प्रशिक्षक पोटरले वेस्ट ह्यामसँग दुई वर्ष र छ महिनाको सम्झौता गरेका छन् । उनलाई बिहीबार बिहान लन्डन स्टेडियममा आयोजना हुने पत्रकार सम्मेलनमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

स्पेनिस प्रशिक्षक जुलन लोपेटेगीलाई मे महिनामा डेविड मोयसको प्रस्थानपछि नियुक्त गरिएको थियो । तर, उनले आधिकारिक रूपमा जुलाई १ मा जिम्मेवारी सम्हालेका थिए ।

लोपेटेगीको कार्यकालमा वेस्ट ह्यामले मात्र ६ प्रिमियर लिग खेल जित्न सकेको थियो । शनिबार म्यानचेस्टर सिटीसँग ४-१ को हारले क्लबलाई यस सिजनको २० खेलमा नवौं हारको सामना गर्न बाध्य बनायो ।

क्लब हाल प्रिमियर लिगको अंक तालिकामा १४औं स्थानमा छ र रेलिगेसन क्षेत्रभन्दा ७ अंकले माथि छ ।

वेस्ट ह्यामले एक विज्ञप्तिमा भनेको छः “२०२४-२५ सिजनको पहिलो चरणमा क्लबको महत्वाकांक्षासँग मेल खान सकेन, जसका कारण क्लबले नयाँ कदम चालेको छ ।”

क्लबले लोपेटेगीसँगै उनका सहायक पाब्लो सान्ज, हेड अफ परफर्मेन्स ओस्कार कारो, हेड एनालिस्ट जुआन भिसेन्टे पेइनाडो, फिटनेस कोच बोरजा डे अल्बा र प्राविधिक कोच एडु रुबियोलाई पनि बिदा गरेको छ ।

४९ वर्षीय पोटरले चेल्सीबाट अप्रिल २०२३ मा बर्खास्त भएपछि पहिलो पटक व्यवस्थापनमा फर्कनेछन् । ब्राइटनमा तीन वर्षसम्म उत्कृष्ट प्रदर्शन गरेका पोटरले चेल्सीमा आफ्नो छोटो कार्यकालमा चुनौतीहरूको सामना गरे । अब वेस्ट ह्यामसँग उनको नयाँ यात्रा कस्तो हुनेछ त्यो भन्ने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *