भारतमा सोमबारबाट शुरु भएको प्रथम खो–खो विश्वकप अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँँग ४२-३७ ले पराजित भएको हो ।

भारतले पहिलो सबै ४२ अङ्क अट्याकबाट जोड्दा नेपालले ३६ अङ्क अट्याकबाट र १ अङ्क डिफेण्डबाट प्राप्त गरेको थियो । पहिलो टर्नमा अट्याक गरेको भारतले २४ अङ्क जोडेको थियो ।

त्यसपछि टर्न टु मा नेपालले अट्याक गर्दै २० अङ्क जोड्यो । टर्न थ्री मा भारतले अट्याकबाट १८ अङ्क जोड्दा नेपालले डिफेण्डबाट १ अङ्क जोडेको थियो । टर्न फोरमा नेपालले अट्याकबाट १८ अङ्क जोडेको थियो ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आज पेरुसँग खेल्नेछ ।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन् । महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ ।

महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *