भारतमा जारी प्रथम खो-खो बिश्वकपको उपाधिका लागि नेपालका पुरूष र महिला दुवै टोलीले आज आयोजक भारतसँग भिड्दै छन् ।

महिलातर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे र पुरुषतर्फको फाइनल खेल राति ८ बजे सुरु हुनेछ । दुबै खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ ।

महिलातर्फ नेपाल र भारत दुबै अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने समूहचरणमा भारतसँगै एक खेल हारेको थियो ।

महिलातर्फ नेपाल समूह ‘सी’ मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।

त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।

यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्‍वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो ।

क्‍वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई ७२-२० ले पराजित गर्दै फाइनल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *