काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व स्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छन्।
अनुले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ को फाइनल खेल लगत्तै घरेलु फुटबलबाट सन्यासको घोषणा गरेकी हुन्।
एपीएफ नेपाल पुलिसलाई हराउँदै महिला लिगको च्याम्पियन बन्दा करियरको अन्तिम खेलमा गोल गर्दै अनु आफ्नो सन्यासलाई अविस्मरणीय समेत बनाउन सफल भइन् ।
फाइनल खेलको ८७ औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदानमा प्रवेश गरेकी अनुले खेलको इन्जुरी समयमा गोल गर्दा एपीएफ ४-० ले विजयी हुँदै च्याम्पियन बन्यो । फाइनलपछि उनलाई एपीएफका खेलाडीले ‘गार्ड अफ द अनर’ सम्मान प्रदान गरेका थिए ।
सन् २०१० मा राष्ट्रिय टोलीमा लागि डेब्यू गरेकी अनुले ६ वर्ष अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएकी थिइन् । विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्दै आएकी अनुले राष्ट्रिय टोलीबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।
