साउदी च्याम्पियन क्लब अल हिलाल किङ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा अल इतिहादसँग पराजित भएर अल हिलाल किङ कपबाट बाहिरिएको हो ।
अल इतिहादले अल हिलाललाई पेनाल्टी सुट आउटमा ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्यसअघि अल हिलाल र अल इतिहाद २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।
अल हिलालका प्रमुख गोलकर्ता अलेक्जान्डर मिट्रोभिच १३औं मिनेटमै घाइते भएर मैदान छाडेका थिए । अल इत्तिहादका लागि ६३औं मिनेटमा करिम बेन्जेमाले गोल गरेर टिमलाई अग्रता दिलाए । तर ७२औं मिनेटमै अल हिलालका लागि कप्तान सालेम अल्दावसारीले गोल गरेर खेल बराबरी बनाए ।
निर्धारित ९० मिनेटमा नतिजा नआएपछि खेल ३० मिनेटको थप समयमा धकेलियो । त्यहाँ पनि दुई टिमले १-१ गोल गरेर खेल बराबरी बनाए ।
१०१औं मिनेटमा अल हिलालका लागि मार्कोस लियोनार्दोले गोल गरेर टिमलाई जितको बाटो देखाएका थिए । तर हार नजिक पुग्दै गर्दा अल इत्तिहादका करिम बेन्जेमाले ११५औं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको हो ।
अल इतिहादसँगै अल राएद, अल शबाद र अल क्वादसिआह किङ कपको सेमिफाइनलमा पुगेका छन् । किङ कपको सेमिफाइनलको ड्र भने बाँकी रहेको छ ।
किङ कपको उपाधि अहिलेसम्म अल अहलीले सबैभन्दा बढी १३ पटक जितेको छ भने अल हिलालले ११ पटक यो उपाधि जितेको छ । त्यस्तै अल इतिहादले ९ र अल नासरले ६ पटक यो उपाधि जितेको छ ।
