एलन मस्कका पिता एरोल मस्कले आफ्नो अर्बपति छोराले प्रिमियर लिग लिडर लिभरपुल खरिद गर्न चाहेको दाबी गरेका छन् ।
एरोल मस्कले टाइम्स रेडियोसँगको अन्तर्वार्तामा भने, “उनलाई (एलन मस्कलाई) लिभरपुल किन्ने इच्छा छ । जो कोहीलाई यस्तो चाहना हुने नै हो – मलाई पनि छ!”
एलन मस्कको हजुरआमा लिभरपुलमा जन्मिएकी थिइन् र पछि दक्षिण अफ्रिका बसाइँ सरेकी थिइन् । यस कारण मस्क परिवारको लिभरपुलसँग भावनात्मक सम्बन्ध रहेको एरोलले उल्लेख गरेका छन् ।
मस्कका पिताले थपे, “उनकी हजुरआमा लिभरपुलमा जन्मिएकी हुन्, र हामीसँग लिभरपुलमा आफन्त छन् । हामी भाग्यशाली थियौं कि हाम्रो परिवारका केही सदस्यहरू द बीटल्ससँग नजिक थिए । त्यसैले लिभरपुलसँग हाम्रो गहिरो सम्बन्ध छ ।”
यद्यपि, एरोल मस्कले क्लबका वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले एलन मस्कको चासो थाहा पाएपछि क्लबको मूल्य बढाउन सक्ने डर पनि व्यक्त गरे ।
यो एलन मस्कको नाम फुटबल क्लब खरिदको विषयमा पहिलो पटक भने आएको होइन । सन् २०२२ मा, म्यानचेस्टर युनाइटेड खरिद गर्ने उनको इच्छा भएको भन्ने समाचारले व्यापक चर्चा पाएको थियो । मस्कले त्यो बेला द्विट गरेका थिए, “म म्यानचेस्टर युनाइटेड किन्दैछु ।” तर पछि उनले त्यसलाई मजाक मात्र भएको स्पष्ट पारेका थिए ।
एलन मस्कले भनेका थिए, “यो द्वीटरमा लामो समयदेखि चलिरहेको मजाक हो । म कुनै पनि खेल क्लब किन्ने योजनामा छैन । तर यदि म कुनै क्लब किन्थें भने त्यो म्यान युनाइटेड हुन्थ्यो ।”
लिभरपुल हाल अमेरिकाको फेनवे स्पोर्ट्स ग्रुपको स्वामित्वमा रहेको छ, जसले क्लबलाई प्रिमियर लिगको शीर्ष स्थानमा पुऱ्याउ भूमिका खेलेको छ । एलन मस्कले क्लब खरिद गर्नेबारे कुनै आधिकारिक पुष्टि नभए पनि, यो समाचारले फुटबल समर्थकहरूमा ठूलो चर्चा भने पैदा गरेको छ ।
