इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार राती भएको खेलमा लिभरपुल युनाइटेडसँँग २-२ को बराबरीमा रोकिएको हो ।

लिभरपुलको घरेलु मैदानमा दुवै टोलीले एक-एक पटक अग्रता लिए पनि बचाउन नसक्दा बराबरीमा चित्त बुझाए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो ।

लिभरपुलका कोडी गाक्पो र मोहम्मद सलाह तथा म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज र अमाद डियाल्लोले एक-एक गोल गरेका थिए ।

खेलको ५२औं मिनेटमा मार्टिनेजको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । तर ५९औं मिनेटमा लिभरपुलका गाक्पोले बराबरी गोल फर्काए ।

अग्रता गुमाएर दबाबमा परेको युनाइटेडले ६८औं मिनेटमा बक्सभित्र ह्यान्ड बल गरेपछि लिभरपुलले पेनाल्टी प्राप्त गरेको थियो । सलाहले उक्त पेनाल्टीको सदुपयोग गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । सोही गोलबाट सलाहले लिगमा १ सय ७५ गोल गर्ने थिएरी हेनरीसँग बराबरी गरेका छन् ।

खेलको ८०औं मिनेटमा युवा खेलाडी अमाद डियाल्लोले गोल गरेपछि युनाइटेडले शीर्ष स्थानको लिभरपुललाई बराबरीमा रोक्न सफल भयो ।

बराबरीपछि पनि लिभरपुल १९ खेलबाट ४६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा कायम छ भने युनाइटेड २० खेलबाट २३ अंंक जोडेर १३औं स्थानमा छ ।

आइतबार राति भएको लिगको अर्को खेलमा फुलहम र इप्स्विचले पनि २-२ को बराबरी खेल्दै अंक बाँँडेका छन् । फुलहम ३० अंकसहित नवौं स्थानमा छ । इप्स्विच १६ अंकसहित १८ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *