बुडेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले बोरुसिया मोनचेनग्ल्याडब्याचमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले बोरुसिया मोनचेनग्ल्याडब्याचलाई १–० गोलले हरायो ।
मोनचेनग्लाडबाचको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई जिताउन ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
जितसँगै बायर्न १६ खेलबाट ३९ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । बायर्नले दोस्रो स्थानमा रहेको साविक विजेता बायर लेभरकुसेनको भन्दा चार अंकको अग्रता बनाएको छ ।
पराजित मोनचेनग्लादबाच भने समान १६ खेलमा २४ अंकसहित तालिकाको १०औं स्थानमा रहेको छ ।
