नेपालगञ्ज । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा शुक्रबार पत्रकारलाई जानकारी गराइएको छ ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा हुँदैछ ।
नेपालगञ्ज रंगशालामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा संचालन गर्न युद्धस्तरमा तयारी थालिएको जानकारी दिए । ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौ’ – कार्यकारी प्रमुख शाहले भने ।
प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहने शाहले बतए । पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा शाहले भने – ‘स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलव्ध गराइने छ ।’
यति ठूलोस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्नु नै मुख्य चुनौति रहेको बताउदै प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टीम सहभागि गराउने तयारी थालिएको बताए । पत्रकार भेटघाट कार्यक्रममा मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी गराएका थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा प्रकाश पारेका थियोb।
पत्रकार भेटघाट कार्यक्रममा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्दलगायतको उपस्थिति रहेको थियो ।
आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म अन्तरालको आयोजनामा नेपालगञ्ज रंगशालामा हुनेछ । लुम्बिनी कप बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटवल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्तरुपमा सार्वजनिक गरेकी हुन् ।
लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ । नेपालगञ्ज रंगशालामा हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहने अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।
