आइसिसी यु-१९ महिला विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमा समेटियो ।
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्याण्डका लागि माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए ।
नेपाली टोलीमा आज २ परिवर्तन गरिएको थियो । सोनी पाख्रिन र तृष्णा विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले मौका पाएका हुन् ।
पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्ड दुवै पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट तथा स्कटल्याण्ड अस्ट्रेलियाविरुद्ध ९ विकेटले पराजित भएको थियो । स्कटल्याण्डविरुद्ध जित निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो हुनेछ ।
