मलेसियामा जारी आइसीसी यु-१९ महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । विश्वकपको अर्को चरणमा पुग्न दुवै देशलाई यस खेलमा जित निकाल्न आवश्यक छ।
विश्वकपमा नेपाल समुह ‘डी’ मा रहेको छ। समुह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्। नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्नेछ ।
यस विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा राउन्ड–रोबिन ढाँचामा खेल हुनेछ । समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । त्यसपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
