आइसिसी यु-१९ महिला टि-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

लगातार तेस्रो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको छ । पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

यता अस्ट्रेलिया लगातार तीन खेलमा जित निकाल्दै समूह ‘डी’ को विजेताको रूपमा सुपर सिक्समा प्रवेश गरेको छ । अस्ट्रेलियाले यसअघि स्कटल्यान्डलाई ९ र बंगलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।

अष्ट्रेलियाले दिएको १४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।

नेपालकालागि कप्तान पूजा महत्तोले सर्वाधिक १८ रन जोडेपनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अलिशा यादबले ९,सना प्रविनले ८ तथा साबित्री धामीले ७ तथा  सिमाना केसीले ६ रन बनाउँदा तृष्णा बिकले १ रन जोडिन् । ज्योत्सनिका मरासिनी र कृष्मा गुरुङले खाता नै खोल्न सकेनन् ।

अस्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २ विकेट लिए ।

त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको थियो ।

अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् । यसैगरी एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाए । 

नेपालका लागि कप्तान पूजा महताेले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् । अन्य बलर महंंगा सावित भए ।

अब नेपालले प्लेअफमा समूह ‘ए’ को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । बिहीवार मलेसिया र वेस्ट इन्डिजबीचको खेलको नतिजाबाट नेपालको प्रतिद्वन्द्वी तय हुनेछ । प्लेअफ खेल शुक्रबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *